कतारमा काट्न नमानेका हातखुट्टा आफै झर्न थाले : आमा भन्छिन् - हेर्दा हेर्दै छोराको देव्रे खुट्टाको पैतालो झर्‍यो

Loading...

हेर्नुहोस भिडियो

सिरहा, मंसिर १२ – पूर्व–पश्च्मि राजमार्गमा पर्छ सिरहाको गोलबजार नगरपालिका । वडा ९ मा पर्ने डन्डा टोलको आवास नगरमा पुग्न मात्रै ५ किलोमिटर उत्तर जानुपर्छ । यहि आवास नगरमा रुन्चिदेवी मोचीको चार जनाको परिवारको पनि बास छ । टायलमा माटो लिम्सिएर बनेको झुपडी आफू भन्दा ठूला बेदना बोकेर लर्बराइ रहेको छ ।

यहि सानो झुपडीको एकापट्टि एउटा गाई र दुईवटा बाख्रा बाँधिएको छ, र अर्कापट्टि रुन्चिदेवीका छोरा संजय बाँधे झैं ढलिरहेका छन् । गाईबस्तुलाई खोरेत लागे जस्तै संजयको निम्छरो शरिर घाउले भरिएको छ । देब्रे खुट्टाको आधा पैतालो कुहेर झरिसकेको छ । अर्को खुट्टाको पैतालो र दुवै हातका हत्केलाले पनि त्यहि बाटो हेर्दैछन् ।

रोजगारीका लागि एक वर्ष पहिले कतार गएका संजय त्यहिँ रोगी भएर फर्किए । उनलाई वैदेशिक रोजगार विभागले दुई वर्षको श्रम स्वीकृति दिएर पठाएको थियो । तर स्वीतृति पाएको अवधि सम्म बस्न उनलाई आफ्नै ज्यानले साथ दिएन ।

रोजगारीका लागि कतार गएका बुबा ज्ञानदेवको कमाई साहुका लागि मात्रै भयो । परिवारले ज्ञानदेवको कमाई देख्न पनि पाएनन् । ज्ञानदेवको कमाई थोरै भएकाले साहुको ऋण पनि भ्याएन ।

छोरो संजय हुर्केको हुनाले अव संजय नै परदेश जाने र बुबा घरमै बस्ने सल्लाह भयो परिवारमा । संजय गएको मंसिरमा कतार गए । संजय कतार गएपछि गाह्रो काम कमाई थोरै भएका ज्ञानदेव विदामा घर फर्किनुभयो ।

छोरो परदेश गएपछि परिवारमा आशा उस्तै थियो जुन अपेक्षा परदेशीका हरेक परिवारले गरेका हुन्छन् । ‘अव छोराले त कमाउला, जग्गा जमीन जोड्न सकिएला र गरि खाने आफ्नै खेत होला ।’ भन्नेआश गरेकी रुन्चिदेवीले सुनाउँनुभयो, ‘अनि यी दुई सन्तानको राम्रोसँग विवाह गरिदिउँला ।’

अव त श्रीमान साथमै होलान् । छोराले बुबालाई पालो दियो । यो पनि सोच्न भ्याइसक्नु भएको थियो रुन्चिदेवीले ।

नभन्दै सुरुवात त्यस्तै देखिको थियो । संजयले कतार पुगेर कम्पनी राम्रो छ भनेका थिए । कतार पुगेको पहिलो महिना नै घरमा पैसा पठाए । त्यसले रुन्चिदेविको ओठमा केहि खुसी छायो ।

तर त्यो नै छोराले परदेशबाट पठाएको अन्तीम कमाई होला भन्ने सोच्नु भएन । अव त नियमित यसैगरि कमाउँदै जान्छ भन्ने सोच्नु भएको थियो ।

छोराको कमाईको सट्टा अशुभ खबर आयो । कतार पुगेको दोश्रो महिनामै संजय रोगी भएको खबर आयो । हातखुट्टाभरि घाउ आयो । विरामी भएपछि आफ्ना सन्तान काखमै हुँदा त आमाको मन अमिलो हुन्छ भने, परदेशमा अरुले सुनाएको खबरले रुन्चिदेवीलाई कति पीर लाग्यो भन्ने अनुमान गर्न गाह्रो छैन ।

आफूलाई के भएको भन्ने संजयले पनि थाहा पाएनन् । उनी भन्छन्, ‘ज्वरो आएको थियो, साथीभाइले अस्पताल लगेछन्, त्यसपछि के भयो मलाई पनि थाहा छैन । होस् खुल्दा शरिर आगोले जलेको जस्तो देखें, मेरो शरिरै होइन जस्तो लाग्यो ।’

खबर सुने देखि रुन्चिदेवीका हात खुट्टा बिलाएका थिए । जिउ भारी भएको थियो भने मन उतै थियो । केहि दिनपछि कतारबाट फेरि खबर आयो, ‘हातखुट्टा काट्नु पर्ने भयो । नकाटे निको नहुने रछ ।’

हातखुट्टा काटेपछि सन्चो हुन्छ भनेपनि रुन्चिदेवीले हातखुट्टा बिनाको छोरो कल्पना पनि गर्न सक्नु भएन । उहाँले आत्तिँदै भन्नुभयो, ‘अ हँ हातखुट्टा नकाटिदिनुहोला ।’
त्यसपछि अत्तालिएकी रुन्चिदेवीले श्रीमान ज्ञानदेवसँग सल्लाह गर्नुभयो । विदामा घर आएका ज्ञानदेव तत्काल कतार जानुभयो । तर संजयलाई भेटेपछि काम नगरि छोरो लिएर फर्किनुभयो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधै नर्भिक अस्पताल पुगेर त्यहाँ भर्ना गरियो । अस्पतालमा संजयको सबै चेकजाँच भयो । तर त्यहाँ पनि उही कुरा आयो ‘हातखुट्टा नकाटेसम्म ठिक हुन्न ।’

यहि कुरा सुनेपछि हात खुट्टा सहित छोरो फर्काउन ज्ञानदेव कतार पुग्नु भएको थियो । तर फेरि पनि छोराका हातखुट्टा घर नपुग्ने कुरा आयो । ज्ञानदेवले संजयका हात खुट्टा काट्न मान्नु भएन । उहाँले भन्नुभयो, ‘बरु यतिकै घर लान्छु, औषधीचाहिँ दिनुस् ।’

नमानेपछि अस्पतालले उहाँले भने जस्तै ग¥यो । औषधी दियो हात खुट्टा काटेन । ज्ञानबहादुर हात खुट्टा कुहेर झर्न लागेको छोरो लिएर घर फर्किनुभयो ।

तर झण्डै एक वर्ष हुन लाग्दा समेत अन्त कतै उपचारका लागि लान सक्नु भएको छैन । नर्भिक अस्पतालले दिएको औषधीको भरमा संजय घरमै छन् । उनको अवस्था झन्झन् बिग्रंदो छ ।

कतारमा हातखुट्टा काट्न मानेको भए सबै खर्च अस्पतालले व्यहोर्छु भनेको थियो । तर परिवारले हातखुट्टा काट्ने निर्णय मान्न सकेनन् । संजयले अस्पतालको राय आमा बुबालाई सुनाएका थिए । तर आँखाले नदेखि छोराको हातखुट्टा काट्ने निर्णय कसरी गर्न सक्थे र परिवारले ।

जुन अवस्थामा छ त्यहि अवस्थामा जतिसक्दो छिटो नेपाल फर्काउने परिवारको आग्रह पछि कम्पनीले त्यसैमा सहयोग गर्‍यो । संजयलाई डाक्टरको टोली सहित नेपाल ल्याइयो । कतारमा भएको सबै खर्चपनि कम्पनीले नै व्यहोर्‍यो ।

जोगाएर घर पुर्‍याएका हात खुट्टा अहिले झर्न थालेका छन् । देख्ने सबैले तत्काल उपचार गराउन सल्लाह दिन्छन् । खर्च नभएपछि केले उपचार गर्नु र कतै लान सकेका छैनन् ।

वीमा कम्पनीले समेत पैसा दिन मानेको छैन् । पछि आउनु भनेको छ । संजय रोगी भएपछि बुबा फेरि कतार जानु भएको छ । तर उपचार गर्ने पैसा कमाउन सक्नु भएको छैन । पहिले नै कमाई थोरै भएकाले नजाने सोच बनाउनु भएको थियो । तर संजयको यो हालत भएपछि परिवार पाल्न पनि जानै पर्ने बाध्यता आइलाग्यो ।

संजय बस्ने झुपडीको भित्तामा देवताको पोष्टर टाँसिएको छ । तर निरिह तस्विर । यस्तो दुःखमा पनि साथ दिन नसक्ने ।

भक्कानिएकी रुन्चिदेवीका आँखाले आँसु थेग्न सकिरहेका थिएनन् । मुखबाट बेदना निस्करहेको थियो, ‘हामी गरिव मान्छे, हाम्रो केही छैन । हेर्दा हेर्दै दुई दिन अघि छोराको देव्रे खुट्टाको पैतालो झर्‍यो । अव उपचार गर्ने पैसै नभएर छोरो ’ । आशिष विश्वकर्माले उज्यालो अनलाइनमा खबर लेखेका छन् ।
Share this video :

Post a Comment