कतारमा हराएका श्रीमानलाई अन्तिम पत्र ! खै ! के भनेर सम्बोधन गरौं, मलाइ नै थाहा छैन ।

Loading...

हेर्नुहोस भिडियो

खै ! के भनेर सम्बोधन गरौं, मलाइ नै थाहा छैन ।
मैले धेरै सोचेर तिम्रो नाममा यो पत्र लेख्दै छु । मलाइ आशा छ तिमी र तिम्रा घरका अरुलाईपनि आरामै होला । तिमी र समाजको अगाडी त म चरित्रहिन महिलाको रुपमा चिनिएकी छु होला । तर मेरो बाध्यतालाई सायद बुझ्ने कोसिस गर्ला समाजले । म आज यो पत्र मार्फत केही कुरा सुनाउँदैछु । कृपया पूरै पढिदेउ है ।

तिमीसँग मेरो पहिलो भेट मेरै माइती घरमा मेरो हात माग्न आएको दिन भएको थियो । कक्षा ८ मा पढ्दा पढ्दै विहे पछि पनि पढाउने कुरा सुनेर मेरा बाआमाले सहमति जनाएका थिए । मलाइ त्यो बेला विहे गर्न मन थिएन । तर के गर्नु म १७ वर्ष भैसकेको पीर मेरो बाआमालाइ निक्कै थियो । नभन्दै त्यसको महिना दिनमै म बेहुली भएर तिम्रो घरको आगनमा पहिलो पटक पाइला टेकेकी थिएँ । कहिल्यै नदेखेको , नभेटेको मान्छेसँग कसरी जिन्दगी बिताउने यस्तै तर्कना खेलिरहेको थियो मेरो मनमा ।
नयाँ ठाउँ, नयाँ मान्छे र नयाँ नाता जोडिएको थियो मसँग । नयाँ बुहारी यसो गर उसो गर भनेर तिम्री आमाले मलाई सिकाइरहनुभएको थियो । तर म भित्रिएको हप्ता दिन देखिनै किन हो आमाको व्यवहार बदलिएको जस्तो लाग्यो । कहिले यो भएन त कहिले त्यो भएन भन्दै मुख विगार्नुको कारण त मैले माइतीबाट दाइजो नल्याउनु पो रैछ अलि पछि थाहा पाएँ । गरिब माइती अलि अलि भएको सम्पति नि दिदीहरुको विहेमै सकिएको थियो ।
मैले तिम्रो मुख पनि राम्रोसँग देख्न पाइन । तिमी विहान ८ बजे उठ्दा म मेला पुगिसकेको हुन्थें । घर फर्किदा तिमी गाउँ डुल्न हिडिसकेका हुन्थेउ । बेलुकाको खाना खाने समयमा झुलुक्क अनुहार देखिन्थ्यो तिम्रो । म जुठा भाडा गरेर कोठा पुग्दा कहिले त निदाइ सकेका हुन्थेउ तिमी । यसरी नै तिमीलाई जति खेर यौन इच्छा लाग्यो जागेर कोट्याउन थाल्थेउ म भने तिम्रो लागि सदावहार तयार हुनुपथ्र्यो त्यहाँ मेरो भावनाको कुनै सुनुवाइ हुने ठाउँ नै थिएन ।
मैले बारम्बार अव पढ्न जान्छु भन्दा यो भन्दा पढेर के गर्नु ? मेरो छुट्टी सकिन लाग्यो ।विदेश गएर धेरै पैसा ल्याउँछु अनि तिमीलाइ पनि पसल खोलिदिउँला भन्दै फकाएका थियौ । मलाइ त पुर्ण विश्वास थियो । तिमीले मलाई धोका दिन सक्दैनौ भनेर । विहे गरेको ६ महिनामै तिमी कतार जादाँ जत्ति मिठो सपना सोचेकी थिएँ त्यो त केवल वालुवाको महल भएछ आखिर ।
विदेश गएको केही समय त तिमीले पनि फोन सम्पर्क गरेर आशु झर्दा सम्झाउने गरेका थियौ । तिमी विदेश गएपछि मैले घरमा पाएको दुःखको भकारी तिमीलाई यो पत्रवाट बुझाउन सायद सक्दिन होला । घरमा तिम्रो आमाको मन मैले कहिल्यै बुझाउन सकिन खै किन हो मलाइ देख्ने वित्तिकै उहाँको मुखमा रिसको बाढी उर्लेर आएको जस्तो लाग्थ्यो ।
जव तिमी विदेश गएको २ वर्षमा अव छिट्टै घर आउछु होला भनेको भोलिपल्ट देखी सम्पर्कविहिन भयौ, मेरो जिन्दगीको बाटो मोडियो । हुन त तिमी सम्पर्कमा भए पनि तिमीले मलाई एक पैसा पठाएनौ । जति खर्च पठाए पनि आमाले मलाइ लुगा धुने सावुन किन्ने बाहेक अरु कुनै पैसा दिनुभएन ।
बजारमा साथीहरुसँग भेट हुँदा ‘विदेशिकी स्वास्नी कत्ति लोभ गर्छेस् ? कति एउटै कुर्ता लगाएको यसपालि त बजारमा यस्तो फेसन आको छ, उस्तो फोन आको छ भन्दै उल्ली बिल्ली पार्दा उनीहरुलाई दिने कुनै जवाफ थिएन मसँग । दसैंमा एक जोर लुगा पाउने मेरो भागपनि तिमी सम्पर्कमा नआएदेखी खोसिएको थियो ।
आमाले बारम्बार तेरो लाग्नेले पैसा पठाए पो दिनु भन्दै झर्किन थालेपछि मैले कहिल्यै कुनै आश नै राखिन उहाँसँग । हुँदा हुँदा तिमी सम्पर्कमा नआएको पनि २ वर्ष बित्यो । गाउँघरमा कहिले आउँछ तिम्रो श्रीमान ? भन्दै सोध्नेको संख्या बाक्लिँदै थियो । म तिम्रो घरमा घरको कुकुर भन्दा पनि पल्लो स्तरको भए जस्तो ठान्थें ।
कुकुरलाई आमाले बोलाइ बोलाइ भात खान दिनु हुन्थ्यो तर मलाइ कहिल्यै खाए नखाएको सोध्नु भएन । झिकेर खान मन लागे खान्थें नलागे भाडामै बासी हुन्थ्यो । मैले बोलाए एकोहोरो बोल्नु हुन्थ्यो नत्र उहाँले खासै बोलाउनु भएन । पछिपछि खै किन हो मलाई देख्ने बित्तिकै फलानाकी स्वस्नी पोइल गइ रे भन्दै मलाई नै ब्याङग्यातत्मक ढङ्गले गाली गरे जस्तो लाग्थ्यो ।
तीजमा माइती जाँदा झण्डै दुई महिना बसेकी थिएँ । तर आमाले ‘घर गरेर खान नसकेर माइती बसी भन्छन, ज्वाइँ एक दिन त घर कसो नफर्केलान जा तेरो घर भनेकै तेरो लोग्नेको घर हो’ भन्नुहुन्थ्यो । आमाले यसो भन्दा साह्रै रुन मन लाग्थ्यो । घरमा सासुको व्यवहार सम्झे अनि माइतीको इज्जत पनि ।
फेरि भाइले आर्मीमा जागिर खान थालेको थियो । उ पनि घर आएको थियो । उसले भन्यो ‘घर जा बरु म २० हजार रुपैयाँ दिन्छु केही व्यपार गर ।’ आँसु पुछ्दै भाइलाई हुन्छ भनेर माइतीबाट बाटो लागेँ ।
साँझ परिसकेको थियो । घरमा आमा भात खाँदै र ससुरा बुवा भैंसीको थला तिर हुनुहुन्थ्यो । आमाले रिसाउँदै भन्नुभयो, ‘उतै बसेको भए भैहाल्थ्यो नि, जुन केटासँग हिमचिम छ उहीसँग बस ।’
मैले आमालाई सम्झाउने कोसिस गरें ‘के भन्नु भाको आमा, म माइतीबाट आउँदैछु कुन केटा सँग के छ र ?’ मैले आमालाई सम्झाउने कोसिस गरेपनि आमा झन जँगिनुभयो, ‘मुख नचला, जुन बाटो आको हो त्यही बाटो लाग ।’ तर ससुराले टाउको हल्लाउँदै कोठातिर जान इसारा गर्नुभयो । म कोठा लागेँ ।
तिमी सम्पर्कमा नआएको ६ वर्ष बितिसकेको थियो । मैले धेरै पटक तिमिलाई फोन गरें तर सम्पर्क हुन सकेन । भाइले दिएको २० हजार रुपैयाँ खाटमुनी टिनको बाक्सामा थियो । त्यो पैसाले के गर्ने कुनै योजना बनाएकै थिइनँ ।
जसको निम्ती मैले सबै त्यागेर आएको थिएँ उसको कुनै खवर छैन । तर गाउँघरमा आ–आफ्नै अड्कल काट्थे । कसैले उतै विहे गरेर बसेको होला । कसैले जेल परेको पो छ कि । अनि कसैले त मर्‍यो होला पनि भन्थे । तिम्रो बारेमा मात्रै अड्कल काट्दैनथे मलाई ‘तिमी पनि आफ्नो बाटो लाग’ भन्दै सुझाव पनि दिन्थे ।
आमाले भने मलाई रात दिन कचकच गर्नु हुन्थ्यो । घाँस काटेर आउँदा नि किन ढिला आइस कोसँग लागेकी छेस् ? मेलापातमा कसैसँग हाँसेबोले बेलुका घरमा बसिसक्नु हुन्नथ्यो । आमाको यस्तो ब्यबहारले मलाई दिक्क लागिसकेको थियो ।
मैले तिमीलाई खोज्न माइतीको दाइ कतार जादा फोटोपनि दिएको थिएँ । तर उहाँले केही पत्ता लाउन सक्नुभएन छ । म भने तिम्रो पर्खाइमा रात दिन रोएरै बिताइरहेको थिएँ । तर तिमी के कारणले सम्पर्कमा आएनौ मलाइ थाहा भएन ।
माइतबाट ल्याएको पैसा १५ दिन पछि हेर्दा थिएन । त्यो पैसाले आपतमा केहि गर्न सक्छु भन्ने आँट दिएको थियो । तर त्यो पनि हरायो । त्यसपछि त्यो घरमा बस्न मन लागेन । माइतपनि जान सकिन । काठमाडौंमा भएकी गाउँकै साथीकोमा गएँ । आखिर उही त थी जसले कहिलेकाहीं दुखेको घाउमा मल्हम लगाइदिन्थी । घरमा माइत जान्छु भनेर कानको मुन्द्रा बेचेर काठमाडाै‌ साथीकोमा गएँ ।
उसले गार्मेट कम्पनीमा काम खोजिदिएकी थिई । दिनभर काम गरेर साँझ उसकै कोठामा बस्थें । तर एउटै कोठामा बस्न साह्रै असहज लाग्थ्यो । उसले त कहिल्यै केही भनिन । तर म सँगै बस्दा उसको श्रीमान खुसी थिएन जस्तो लाग्यो ।
अनि काम गर्ने ठाउँ नजिकै कोठा भएको जानकारी गार्मेन्टका साइला ठेकेदारले गरेपछि मैले आफ्नो बसाई यता सारेको थिएँ । साइला पनि निकै सहयोगी थिए । काम गर्ने सिलसिलामै म निक्कै बिरामी भएको थिएँ । मेरो शरीरमा रगत कम भएर म मर्ने अवस्थामा पुग्दा पनि उनैले रगत दिएर मेरो ज्यान जोगाएका थिए । मेरो पेटमा पानी जमेर म धेरै दिन थला पर्दा मेरो ख्याल गर्नका लागि उनकी बहिनीलाई समेत गाउँबाट बोलाएका थिए ।
खै किन हो ! आफू बिरामी भएको खवर माइतीलाई पनि सुनाइन । काठमाडौंमा काम गर्न आएको खवर भने सुनाइसकेको थिएँ । बिरामी भएर उठेपछि पनि साइलाले अहिल्यै काम गर्नु पर्दैन । म पैसा दिन्छु । पछि काम गरेर तिर्दा हुन्छ भनेपछि झण्डै ३ महिना म काममा गइन । साँइलाले दैनिक फलफुल र औषधी लिएर आउँथे । मैले पनि आफ्नो विगतको बारेमा सवै कुरा सुनाएको थिएँ, र उनले पनि । उनको पनि कहानी मिल्दो जुल्दो रहेछ ।
उसले मलाई मन पराइसकेका रहेछन् । ‘म तिमीलाई माया गर्छु । के तिमी मसँग बिवाह गर्न राजी छौ ?’ भनेर सोधे । आखिर तिम्रो कुनै खुटखबर थिएन । तिम्रो घरमा पनि मलाई राम्रो गरेनन् । बस्न खान नदिएपछि आखिर तिम्रो घर छाडेर हिँडिसकेको थिएँ । यस्तो अवस्थामा मैले उसको प्रश्ताव स्वीकारें । अनि हामीले मन्दिरमा गएर दोस्रो पटक विवाह गर्‍यौं ।

त्यसपछि मलाई समाजले कुन नजरले हेर्छ मलाइ मतलव छैन । तिमी कहा छौ या छैनौ नि मलाई थाहा छैन । मैले तिमीलाई कुरेर करिव ७ वर्ष बिताएको थिएँ । तिमी आउने आश हराएपछि मैले खुसी खोज्न थालेको थिएँ । जुन खुसी साइलो ठेकदारसँगको नयाँ जीवनसँगै सुरुभयो । तिमीसँगको नाता सधैंका लागि तोडियो ।
अहिले म खुसी छु । र मलाई लाग्छ तिमीपनि दुःखी छैनौ होला ! सायद मेरो यो वाध्यतालाई समाजले आफ्नै हिसावले व्याख्या गरिसकेको होला । मलाई अर्को बिवाह गर भनेर उस्काउनेहरुले नै अहिले मेरो कुरा काटिरहेका होलान् । यस्तै बाध्यताले महिलाहरुले दोश्रो बिवाह गर्छन् तर समाजले त्यो बाध्यता बुझ्दैन, र खोज्दैन पनि । मात्र महिलाहरुलाई चरित्रहिन भन्दै फट्याईं ठान्छ । देख्छ पनि त्यहि । उनीहरुलाई मेरो भन्नु केहि छैन ।
भन्नु छ त तिमीलाई । तिमीसँग धेरै कुरा गर्न मन छ । प्रष्ट पार्न चाहान्छु मेरो वाध्यता । अनि थाहा पाउन मन छ तिमी एक्कासि हराउनुको रहस्य । तर अव म तिम्रो र तिमी मेरो रहेनौ । त्यसैले भेटेर यी सब कुरा सुनाउन संभव नभएपछि यो पत्रको सहारा लिएँ ।
उही तिम्री पहिलाकी श्रीमती, अहिले कसैकी ।
(कतारमा हराएका श्रीमानलाई रामेछापकी एक महिलाको अन्तीम पत्र) : प्रस्तुती सिर्जना बस्नेत,रामेछाप । )
Source : UjyalloOnline

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment