१५ औं तलाबाट चिठी खसालेर बाँचिन् दुवईमा थुनिएकी रमिता

Loading...

हेर्नुहोस भिडियो

नारायण अधिकारी/उज्यालो ।
काठमाडौं, पुस १५ – ‘प्लिज हेल्प मी, हेल्प मी, हेल्पी मी ।
आइ एम रमिता कार्की फ्रम नेपाल । आइ एम ट्रयाप्ड इन दिस हाउस नम्बर ५०० फिफ्टिन्थ फ्लोर्स अफ द बिल्डिङ । दिस बिल्डिङ नेम इज एमबी केल टावर इन मानमा हाइपर मार्केट । प्लिज हेल्प फर ए नेपाली ट्रयाप्ड लेडी । मालिया मारी इज माइ एजेन्ट । प्लिज हेल्प मी, हेल्प मी, हेल्प मी।’
दुवइमा रहेको एमबी केल टावरको १५ औं तल्लाबाट गएको भदौंको पहिलो हप्ता एउटा कपडाको डल्लो भुईमा खस्यो । कुचो लगाउँदै गरेकी एक महिलाले त्यो कपडाको डल्ला फेला पारिन् । उनले कपडाको डल्लो खोलिन् । त्यहाँ भित्र एउटा कागज थियो । जहाँ पेनसिलले माथि अंग्रेजीमा उल्लेखित भनाई लेखिएको थियो । कुचो लगाउने महिलाको मन पग्लियो । त्यो पेनसिलले लेखिएको कागजको टुक्रो उनले प्रहरीलाई दिइन् ...........।
१३ वर्षको उमेरमा बिवाह गरिन् काठमाडौंकी रमिता कार्की (नाम परिवर्तन) ले । उनी अहिले २८ वर्षकी छिन् । उनका बुवाले संसार छाडिसके भने आमाको अनुहार कस्तो थियो उनलाई खासै थाहा छैन । हजुरआमा र काकाको स्याहारसुसारमा हुर्किन । र १३ वर्षको उमेरमै नेपालीका मूलका भारतीयसँग बिवाह गरिन् । उनलाई श्रीमानले पनि छोडेको चार वर्ष भइसक्यो ।
कमजोर आर्थिक अवस्था, खान लगाउन समस्या र ५ वर्षे छोरोको पढाई । उनलाई यही समस्याले पिरोल्यो । जागिरको सिलसिलमा उनका पैतलाले काठमाडौंका सबैजसो गल्ली चाहार्‍यो । तर हात लाग्यो शून्य । ‘काठमाडौंमा पाँच हजारको जागिर पाएको भएपनि म बिदेश जान्न थिएँ नि′ टलपलटलपल आँशुले भरिएका आँखा मिच्दै रमिताले भनिन् ।
काठमाडौंमा काम नपाएपछि उनी छोरा पढाउने र पाल्ने अभिलाषा लिएर कुवेत जान तयार भइन् । रमितालाई पासपोर्ट बनाइदिनेदेखि कुवेतसम्म बिना पैसा लगिदिन तयार भए राजकुमार खरेल । उनलाई साथ दिएका थिए पुरन सुब्बा, पूर्णबहादुर लिम्बु र हरिप्रसाद थारुले ।
सबै काम मिलिसकेपछि उनी गएको असार १९ गते विदेश जान भन्दै नेपाल छाडिन् । ‘कुवेत हिँडेको छु, पाँच वर्षको छोरो एक्लै छ, बुबाआमा कोही छैनन्, आँखा रसाउँथे । तैपनि मुटु दरो पारेँ’ स्वरमा हराएको चमक अरुले थाहा नपाउन् भने जसरी उनले भनिन् ।
उनलाई हरि थारुले असार २२ गते बेलुका दिल्ली पुर्‍याए । पवनको घरमा लगेर छोडे । ‘खाउ है बैनी चिन्ता नगर’ भन्दै हरि नेपाल फर्किए । रमितालाई दिल्ली पुर्‍याएपछि हरिले १५ हजार रुपैयाँ दाम पाए । उनले आफ्नो काम फत्ते गरेर नेपाल फर्किए ।
रमिताको १२ दिनसम्म दिल्लीमा बास भयो । थर थाहा नभएका राकेशले श्रीलंकाको पासपोर्ट लिएर आए र रमितालाई श्रीलंका पठाइयो ।
श्रीलंका पुगेको केही दिनमा रमितालाई कुवेत पठाइयो । ‘योर पुलिस रिपोर्ट इज रङ । यु मस्ट रिटर्न इन श्रीलंका’ कुवेत एयरपोर्टमा पाइला टेक्ने बित्तिकै कुवेत प्रहरीले उनलाई यसो भन्दै श्रीलंका फर्काइदियो ।
अब भने रमितालाई थाहा भइसकेको थियो म ठगिए । श्रीलंकामा रहेका मोहन र जमिर एजेन्टसँग उनी बाझिन । तर उनको केही लागेन । तिमीलाई अब दुवई पठाउँछौ भन्दै त्यसको १० दिनपछि रमितालाई दुवई पठाइयो ।
दुवई पुगेपछि भने रमिताको सपनाले एक सय असी डिग्रीको फन्को मार्यो । धन कमाउने र छोरो पढाउने उनको सपना सपनामै सीमित हुन लाग्यो ।
मानमा हाइपर मार्केटको ५०५ नम्बरको बिल्डिङको १५ औं तलामा लगेर उनलाई थुनियो । ‘म लगायत ५० जना भन्दा बढी महिलालाई त्यहाँ बन्धक बनाइएको थियो, कुटपिट हुन्थ्यो, यौन दुव्र्यवहार हुन्थ्यो, मोलमोलाई हुन्थ्यो, गाईवस्तु किनेजस्तो थियो’ आफ्नो विगत सम्झिन रमिताले ।
कसरी उम्कने, फोनसमेत राख्न दिएको छैन । ताला लगाएर राखेको छ ? खाटामुनि एउटा सानो पेनसिलको टुक्रा भेटिन् रमिताले । त्यो पेनसिल कयौंले देखेका थिए होलान तर कसैले त्यसको महत्व बुझेनन् । पर्समा भएको एउटा कागजको टुक्रा निकालिन रमिताले । र लेखिन् माथि अंग्रेजीमा उल्लेख गरिएको भनाई, प्लिज हेल्प मी, हेल्प मी, हेल्प मी .......।
तन्ना च्यातिन र कागजको टुक्रा पोको पारेर झ्यालबाट खसालिन् । कागजको टुक्रा झाडु लगाउने महिलालले भेटिन् र प्रहरीलाई दिइन् । ‘प्रहरीले यसबारे एजेन्टसँग बुझेछ, त्यसपछि म माथि कुटपिट भयो । लुगा फुकालेर नाङ्गो फोटा खिचियो र नेटमा हाल्दिन्छु, तँ बाठो हुने भन्दै उनलाई कुटपिट भयो ।
त्यसपछि उनलाई दुवईबाट आमोन लगियो । ओमानको अलगु्रफफ भन्ने हाउसमेडको अफिसमा उनलाई लगियो । ‘त्यसको केही घण्टामा एक जना मालिक आए । हामी ७/८ जना केटीलाई लाइन लगाइयो । त्यो मालिकले कालिड भन्ने अरबिकलाई दुई हजार रियाल दियो । त्यसपछि मालिकले मेरो हात तान्यो, पशुलाई दाम्लाले डोर्‍याएजस्तो मेरा हात समाएर मालिक मलाइ उसको घर लग्.......’ यहाँ भन्दा बढी बोल्न सकिनन् रमिता । उनी घोसे मुन्टो लागिन् ।
कोठीमा नपुगे पनि यसको घरमा रखेल बन्न जाने भएँ भन्ने भइसकेको थियो उनलाई । त्यसपछि रमिताले मालिकको घरमा काम गर्न थालिन् । उनी कामले लखतरान हुन्थिन् । यसरी उनले मालिकको घरमा काम गर्न थालेको ११ दिन भइसकेको थियो ।
‘त्यसपछि मलाई मालिकले तँलाई गर्मी भयो भन्दै पसिना पुछिदिन थाल्यो, धाप मार्न थाल्यो, जिउ कन्याउन थाल्यो । म मान्दिन थिएँ तर उसले जबरजस्ती गथ्र्यो । यसो गरेको केही दिनपछि तँ धेरै राम्री छेस्, तेरो ओठ कति राम्रो, आँखा कति राम्रो, गाला कति राम्रो म तँलाई मन पराउँछु भन्दै आइ लब यु भन्दै यौन दुव्यवहार गर्न खोज्यो’ उनले पीडा सुनाइन् । बाघको पञ्जाबाट मृगलाई उम्कन जति गाह्रो हुन्छ त्यो भन्दा बढी गाह्रो रमितालाई हुन थाल्यो । मालिकको प्रस्ताव उनले मानिनन् ।
त्यसपछि उनको शरीरमा स्प्रिड बर्सियो, बुटका जब्बर छाप बर्र्सिए, कुटपिट सामान्य हुन थाल्यो । राम्रो शब्द उनका लागि शब्दकोषमा थिएन । केही दिनअघि मात्र त्यही घरमा मालिकका दुई जना छोराले एक नेपाली महिलालाई बलात्कार गरेपछि उनले फ्यानमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । रमितालाई आत्महत्या गर्ने सोच आयो ।
‘कोठमा सुते राति मालिक आउँथ्यो । कोठमा भित्रबाट चुकुल लगाउने ठाउँ थिएन । राति आफ्नो ओच्छ्यान कस्तो हुन्छ मलाई थाहा भएन । म बाथरुममै रात बिताउँथे । विष भए पनि खाएर मर्थे भन्ने सोच पनि आयो । म रुँदै बहिनीसँग च्याट गर्थे’ बेदनाले भरिएको मनको बह धक नमानी पोखिन् रमिताले भनिन् । ‘नरोउ दिदी म तिमीलाई जसरी पनि नेपाल फर्काएर छाड्छु ।’ बहिनीको यो बचनले उनको मन केही हलुको हुन्थ्यो ।
यसरी रुँदै बाथरुममा सात रात बिताइन् रमिताले । त्यो घरमा काम नगर्ने भन्दै उनी रुँदै पागल जस्तै बनिन् । त्यसपछि उनलाई हाउसमेडको अफिस लगियो । जहाँ ६० जना महिलालाई बन्धक बनाएर राखिएको थियो । कोही रखेल राख्न वा यौन पेशामा संलग्न गराउन चाहन्छन् र त्यहाँ गइ मोलमोलाई गर्दै किनबेच हुन्थयो ।
रमिताले बरु मर्ने तर यस्तो काम नगर्ने भन्दै चक्कुले आफ्नो दाहिने हात काटिन् । ‘यि हेर्नुस् अझैपनि घाउ छ’ आफ्नो दाहिने हातको सर्टको बाहुला सार्दै काटिएको घाउको खत देखाइन् रमिताले ।
यता बहिनी अठोट गरेकी थिइन् ‘म तँलाई जसरी भएपनि नेपाल फिर्ता गर्छु दिदी नरो ।’
‘मेरो दिदीलाई कामको लोभ देखाई ओमान पुर्याइयो । दिदी अहिले त्यहाँ कष्टपूर्ण तरिकाले बस्नु भएको छ । उहाँलाई शारीरिक, मानसिक यातना दिनुका साथै यौन शोषण पनि गरिएको छ । तत्काल मेरो दिदीको उद्धार गरी नेपाल झिकाइ पाउँ ।’ बहिनी रबिना कार्कीले सिआइबीमा उजुरी हालिन् ।
सिआइबीले उनलाई विदेश पठाउने राजकुमार खरेललगायत पूर्णबहादुर लिम्बु र हरिप्रसाद थारुलाई पक्राउ गर्‍यो । आफ्नो भाइ राजकुमार पक्राउ गरेको थाहा पाएपछि कुवेतमा रहेकी मिना खरेलले ओमानको हाउसमेड कम्पनीलाई पैसा पठाइन् र रमिता मंसिर १७ गते नेपाल फिर्ता भइन् । स्मरण रहोस् राजकुमारका दिदी मिना खरेलले कुवेतबाट भिसा पठाउँदै नेपालबाट यसरी केटी बेच्ने गरेका थिए ।
FROM http://ujyaaloonline.com/
Share this video :

Post a Comment