कतारमा भेटिएकी बहिनी, तिमीले मेरा आँखा खोलिदेउ

Loading...

हेर्नुहोस भिडियो

यसपालीको दशैंमा नेपाल जाने टिकट छिटो किन्न सकिएन । एक हप्ताअगाडि मात्र टिकट किन्दा महंगो त पर्ने नै भयो रुट अनि ट्रान्जिट पनि लामो पर्‍यो । कतारको एयरपोर्टमा २१ घन्टा ट्रान्जिटमा बिताउनु पर्‍यो । विहीबार साँझ त्यहाँ ओर्लिएको मेरो अर्को उडान भोलिपल्ट साँझमा मात्र थियो । सँगैका यात्रीहरु कोहि अर्को उडानमा लागे, कोहि रात बिताउन लामो सुत्न मिल्ने कुर्चिको खोजमा लागे । कोहि कतै लागे, कोही कता ।
कतारको यति ठूलो एयरपोर्टमा एक फन्को लगाउँदा पनि मैले कतै लामो कुर्ची भेटाउन सकिनँ । रात छिप्पिदै जाँदा सामान्य कुर्ची पनि भरीभराउ हुँदै थिए । धेरै जसोमा मान्छे नै बसेका थिए भने कुनैकुनैमा एउटा सानो तिनो झोला वा केहि सरसामान राखेर ठाउँ ओगटिएका थिए । फेरी यहि ठाउँ पनि नपाइने हो कि भनेर एउटा सामान्य कुर्चिमा बसिहालें ।
म बसेको सिट गेट नम्बर १७ को सिधा पारीपट्टि थियो । सिसि टिभि क्यामरा पनि ठिक त्यही माथि । त्यही भएर निधाइहाले पनि आफूलाई अझ बढी सुरक्षित ठानेको थिएँ । अलि अगाडी प्लेनमा दिएको खान बाँकी चिप्स, चक्लेट खाँदै मोबाइलमा गेम खेल्दै १/२ घन्टा बितिहाल्यो ।
ल, अब निद्रा नलागे पनि यसो पल्टिएर आराम गर्नुपर्छ भन्ने सुरमा थिएँ । एकपटक रेष्ट रुम जान मन लाग्यो । रेष्टरुमबाट फर्किन लाग्दा दुईजना नेपाली केटाकेटीलाई देखें । विदेशमा नेपाली नै हुन भनेर अनुहार हेरेर मात्र यकिन गर्न गाह्रो हुन्छ । मलाई त इन्डियन, बंगाली तथा दक्षिण अमेरीकीहरु पनि नेपाली जस्तै लाग्छ । त्यहाँ देखिएका केटाकेटीहरुले रेष्टरुममा क्लिनिङ गर्ने काम गर्दा रहेछन् । केटा जेन्टस् अनि केटी लेडिज रेष्टरुम ।
जेन्टस र लेडीज रेष्टरुम वारी र पारी भएको हुनाले काममा फुर्सद भएको बेला पारेर गफ गर्दै थिए उनीहरु । नेपालीमा कुरा गरेको हुनाले मलाई यिनीहरु नेपाली नै हुन भन्ने छुट्याउन गाह्रो भएन ।
विदेशको ठाँउमा नेपाली देख्नासाथ आफुलाई आफ्नै दाजुभाइ जस्तो लाग्छ । त्यही माथि आफूलाई लामो समय बिताउनु पर्ने भएकोले अनि त्यही काम गर्ने भएपछि कतै नजिकै सुत्ने व्यवस्था पनि भएको उनीहरुलाई थाहा छ कि भन्ने लागेर मलाई उनीहरुसँग कुरा गर्न मन लाग्यो ।
पहिला भाइसँग कुरा गर्न खोजेँ । भाइ अलि व्यस्त छु जस्तो गरेर तर्किहाले । अनि बहिनीसँग हाइहेल्लो गरेर आफनो परिचय दिएँ । उनले पनि आफनो परिचय दिइन् । दैनिक १७ घन्टासम्म काम गर्ने बहिनीको आज नाइट ड्यूटी परेको रहेछ ।
काम मेहेनतसाथ गर्नुपर्ने तथा दिनरात केही नभनी ड्यूटीमा खट्नु पर्ने भएपनि आफ्नो जागिर एकदम सुरक्षित भएको बताउँदा मलाई खुशी लाग्यो । यस्तैयस्तै कुरा गर्दै जाँदा थाहा भयो यी बहिनीले हालसालै आफनो गाँउमा बन्न लागेको स्वास्थ्य चौकी निर्माणको लागि १० हजार रुपयाँ सहयोग गर्न लागेकी रहिछिन् । एकैछिन कुराकानी भएपछि बहिनी आफ्नो काममा लागिन्, म आफ्नो ठाँउमा लागें ।
एयरपोर्टमा भीडभाड कम हुँदै थियो । कोही निदाइसकेका थिए, कोही निद्रा देवीलाई प्रार्थना गर्दै आँखा चिम्लिएर निद्रा पर्खिरहेका थिए भने कोही मोबाइल वा ल्यापटपमा आँखा डुलाइरहेका देखिन्थे ।
यताउता गर्ने मान्छेहरु एकदम कम हुँदै थिए अथवा यात्री भन्दा एयरपोर्टमा काम गर्ने मान्छेको बढी आवतजावत देखिन्थे । म भने बेन्चमा बसेर झोलाको सिरानी बनाउँदै निदाउन खोजिरहेको थिएँ । बेन्चमा बसेर आँखा चिम्लिँदैमा के निद्रा आउँथ्यो र ? त्यहीमाथि स्टिलको बेन्चले सारा चिसो शरीरमा पठाइरहेको थियो । मध्य रातमा भएर होला यस्तो जाडो भएको । कतारमा यस्तो जाडो होला जस्तो मलाई लागेको थिएन । यस्तो हुन्छ भन्ने लागेको भए केही व्यवस्था गरिन्थ्यो होला । एकातिर स्टिलको बेन्च, त्यसमाथि रातको चिसो, मलाई सजिलै निद्रा लागेन ।
मैले तिनै बहिनीलाई सम्झिरहें । विदेशको ठाउँमा दिनरात नभनेर यस्तो दुःखको काम गरेर दुईचार पैसा बचत गर्दै आफ्नो गाउँको विकासलाई टेवा पुर्‍याउन चाहने ती नेपाली नारीलाई सलाम गर्न मन लाग्यो ।
म आफू वर्षौं यूरोपमा बसेर पढ्नको लागि भनेर लाखौं रुपयाँ नेपालबाट लिएर आएँ । अहिलेसम्म जति कमाए पनि यतै खर्च गर्दै आइरहेको छु । देशको लागि, गाँउको लागि एक रुपैयाँ सहयोग गर्न त परै जाओस् घर खर्च भनेर पनि कहिल्यै आफ्नो परिवारलाई समेत पैसा पठाएको छैन ।
आखिर हामी यूरोपमा बस्ने नेपालीले नेपाललाई कसरी योगदान दियौं त ? उल्टो उताबाट धन सम्पत्ति ल्याएर यतातिर जमेर बस्यौं । योगदान त यी बहिनीजस्ता अरेबियन देशमा काम गर्ने नेपालीहरुले गरे ।
उनीहरुले पठाएको पैसाले देश चलिरहेको छ, थोरै मात्रामा भएपनि देश विकासमा योगदान पुगेको छ । यस्तैयस्तै सोच्दासोच्दै कति बेला झुपुक्कै निदाएछु ।

भोलिपल्ट उनलाई भेटेर ‘मेरा आँखा खोलिदियौ, बहिनी तिमीलाई सलाम छ’ भन्न मनलाग्यो । तर त्यहाँ पुग्दा ती बहिनी थिइनन्, उनको साटो काम गर्न अर्कै मान्छे आइसकेको थियो ।
Source http://www.sajhapost.com/
Share this video :

Post a Comment