मलाई पैसा होइन श्रीमान् भए पुग्छ, खोजिदिनुस् है !

Loading...

हेर्नुहोस भिडियो

अर्जुन श्रेष्ठ/धादिङ ।
माघ २७ – ‘फोन गर्दा नरोएको दिन हुँदैनथ्यो, फोन गर्दा जहिले पनि मलाई जसरी भएपनि घर फर्काउ मात्रै भन्नुहुन्थ्यो’ श्रीमानले आग्रह गरेपनि प्रितिमायाले उद्धार गर्न नपाउँदै बेपत्ता हुनुभयो । आशमान गएको साउन २८ गते रोजगारीका लागि साउदी अरव जानुभएको थियो । ललितपुरको जाउलाखेलमा रहेको अक्सफोर्ड इन्टरनेशनल म्यानपावरबाट गएका आशमान साउदीको महरा एचआर अण्डर कन्स्ट्रक्सनमा होटल हेल्परको काम गर्नुहुन्थ्यो । त्यो कम्पनीमा उहाँले १८ घण्टा काम गर्नुपथ्र्यो तर त्यो उहाँलाई नेपालमा भनिएको काम थिएन अनि पैसा पनि भनेको जति पाउनुभएन । त्यसैले फोन गर्दा प्रत्येक पटक श्रीमतीसँग उहाँले तिनै कुरा सुनाउनुहुन्थ्यो । ‘एक छाक खाना खाएर १८ घण्टा काम गर्छु । सुत्न पनि पाउँदिन । न काम गरे अनुसारको दाम छ । दुःख मात्रै पाएँ त्यसैले मलाई नेपाल झिकाउ । म नेपाल फर्कन चाहन्छु । यो नरकबाट मुक्ति चाहन्छु भनेर रुनु हुन्थ्यो ।’ प्रितिमायाले भन्नुभयो ।
श्रीमानले घर फर्काउन आग्रह गरेपछि उहाँ धेरै पटक म्यानपावर कम्पनीमा धाउनुभयो । एजेन्टसँग पनि बिन्ति बिसाउनुभयो । तर विदेशको काम यस्तै हो । विस्तारै ठिक हुन्छ भनेर आवश्वासन दिएर फर्काइदिए ।
केही महिनासम्म श्रीमतीलाई हारगुहार गरेका आशमान त्यसपछि हराउनुभयो । गहभरिको आँसु पुछ्दै प्रितिमाया भन्नुहुन्छ ‘भाइटिका पछि उहाँको फोन आउने आशै आशामा चार महिना वित्यो तर न फोन आयो न उहाँको कुनै पत्तो छ ।’
नेपालमा ज्याला मजदुरी गरेरै दैनिक ४÷५ सय रुपैयाँ कमाउनुहुन्थ्यो । तर सधैं काम नपाएपछि कमाउने सपना लिएर विदेश जानुभयो । पैसा कमाउँला घर खर्च चलाउँला, केही सहज होला भन्ने योजना बनाएर साउदी उड्नुभयो । तर अहिले उहाँ घर आउने नआउने पत्तो छैन । प्रितिमायाले आग्रह गर्नुभयो ‘मलाई पैसा होइन श्रीमान भए पुग्छ, खोजिदिन सहयोग गर्दिनुस् न ।’
फेसबुकमा देखिएर फेरि हराए
आसामान गाएको तिहारको एक दुई दिनसम्म सम्पर्कविहीन हुनुभयो । परिवार के गर्ने कसो गर्ने भन्ने चिन्तामा थियो । तर गएको जनवरी ८ तारिकमा नारायण कटुवालको फेसबुकमा भाइको फोटो देख्नुभयो सकरामले । अचेत जस्तै अवस्थामा रहेको भाइको फोटो नारायण कटुवालले आफ्नो फेसबुक वालमा पोष्ट गर्नुभएको थियो ।
बेहोस अवस्थामा बाटोमा लडिरहेका भाइको फोटो देखेर झस्किएका सकरामले नारायणसँग फोनमा भाइका बारेमा जानकारी लिनुभयो । नारायणको भनाईअनुसार आशमानको अवस्था निक्कै कमजोर थियो । आशमान न बोल्न सक्नुहुन्थ्यो न त राम्रोसँग हिँड्डुल गर्न । नारायणले खबर सुनाएपछि सकरामले चार वर्ष अघिको कुरा पनि सम्झिनुभयो । चार वर्ष अघि आशमान बिहान उठ्दा अनौठो व्यावहार देखाउहुन्थ्यो रे । ‘कसैलाइ चिन्दैनथ्यो । म को हुँ, तिमी को हौ भनेर सोध्थ्यो । तर औषधि खुवाएपछि ठिक हुन्थ्यो’ सकराम भन्नुहुन्छ । तर उपचार गरेर ठिक भइसकेको भाइलाइ त्यही समस्या दोहोरियो भन्ने लाग्दैन उहाँलाई ।
आशमानलाई भेट्टाउने नारायणले केही दिन त कोठामै पनि राखिदिएको जानकारी पाउनुभएको थियो सुकमानले । नारायणले नै दूतावाससँग कुरा गरेर नेपाल फर्काइदिने तयारी पनि गर्नुभएको थियो तर रातीको ३ बजे नै कोठाबाट हिँडेपछि फेरि भेट्टिनुभएको छैन ।
भाइ हराएको खबर आएपछि सकरामले सउदी अरवमा रहेका सबैसँग सोधपुछ पनि गर्नुभयो । तर भाइ आशमान त्यसपछि कहाँ गयो, के गर्दैछ, कस्तो अवस्थामा छ केही थाहा पत्तो छैन । ‘यहीँ सबैसँग सहयोग पनि मागेँ । अहिलेसम्म पत्ता लगाउन सकिन । भाइ फेला परेन ।’ आँसु झार्दै सकराम भन्नुहुन्छ ‘कहिले काहिँ त नभेटिने पो हो जस्तो पनि लाग्छ ।’
आशमानलाइ इन्टरनेट तथा प्रयोग गर्न आउँदैन । तर फेसवुक चाहिँ विदेश जानु भन्दा अघि नै खोल्नुभएको थियो । फेसबुकमा दाजुभाइ साथी पनि हुनुहुन्थ्यो । तर अहिले खोज्दा भाइलाई फेसबुकमा भेट्टाउनुभएको छैन सकरामले ।
फेसबुकमा केही अपडेट पो भएको छ कि भनेर घरिघरि उहाँ फेसबुक हेरिरहनुहुन्छ तर फेसबुकमा साथी भएको भाइ अहिले भेटिएका छैनन् । त्यसैले कता कता सुनियोजित तरिकाले भाइलाई समस्यामा पारेको हो कि भन्ने शंका पनि लाग्छ सकरामलाई ।
सकरामले भाइ खोजिदिन सरकार पनि गुहार्नुभयो । तर पासपोर्टको फोटोकपीसहित कागजात चाहिने कुरा थाहा पाएपछि त्यहाँबाट सहयोग पाइने आशा मरेको छ । साउदी अरवमा आशमानले काम गर्दा आशमान पहिले नै काम छोडेर भागेको जवाफ पायो उहाँको परिवारले । त्यसैले आशमानको परिवार अहिले पनि पहिले जस्तै कसैले न कसैले त फेला पारेर खबर गरिदेला भन्ने आशमा छ ।
Source http://ujyaaloonline.com

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment